काठमाडौं । नेकपा माओवादी केन्द्र र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई एकतामा नआए पनि महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठले नेतृत्वको गरेको पार्टीसँग जेठ १२ गते एकता हुने बताएका हुन् ।
पार्टी मध्यपहाडी लोकमार्ग अभियानका क्रममा बागलुङ पुगेका अध्यक्ष प्रचण्डले जेठ १२ गते यादव नेतृत्वको पार्टीसँग एकता हुने बताएका हुन् ।
नेसपाका सहअध्यक्ष श्रेष्ठले जेठ १२ गते एकता हुने निर्णय भएको पुष्टी गरे । ‘हामीले एकता गर्ने निर्णय गरी सकेका थियौँ, बाहिर सार्वजनिक गर्ने कुरा थिएन, जेठ १२ गते एकताको घोषणा हुन्छ,’ उनले भने ।
पार्टीको नाम तत्काल नेकपा माओवादी केन्द्र भए पनि एकता महाधिवेशनबाट परिवर्तन हुने भएको छ ।नेसपामा संघीय सांसदको रुपमा महेन्द्र राय यादव छन् भने प्रदेशसभा सांसदको रुपमा श्रेष्ठ छन् ।
लामो समय माओवादी जनयुद्धमा सहभागी भएका नेता कार्यकर्ता बाबुरामलाई छाडेर माओवादी केन्द्रमा समाहित हुने भएका छन् ।