कांग्रेस बैठकमा रुवाबासी, गभर्नर नियुक्त गर्न नसकेको गुनासो

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बोलाएको बैठकमा रुवासी चलेको छ । कांग्रेसले समसामायिक राजनीतिक विषयमा छलफल गर्न नयाँ बाँनेश्वरमा बैठक बोलाएको थियो ।

जब पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरु आएपछि बैठक सुरु भयो सांसदद्वय माया राई र मञ्जु खाण धुरुधुरु रुन थाले । काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेर अदालतको आदेशले धरौटीमा छुटेकी सांसद राई रोएपछि खाणपनि रोएको एक नेताले बताए ।

सांसद राई सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको तर अन्यायपूर्वक आफूलाई पक्राउ गरिएको दाबी गर्दै रोएकी हुन् । ‘राई थरकै एकजनाले समितिमा बस्न आग्रह गरेपछि म सहकारी सञ्चालक समितिमा बसेकी हुँ, तर आर्थिक कारोबारमा मेरो कुनै संलग्नता थिएन’, राईको भनाई उल्लेख गर्दै ति नेताले भने । बैठकमा सहभागी ति नेताका अनुसार सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले आफूलाई दोषी नदेखाएको समेत उनले दाबी गरेकी थिइन् । सहकारी ठगी अनुसन्धानको सिलसिलामा गत वैशाख १२ गते पक्राउ परेकी राई वैशाख ३१ गते धरौटी तिरेर रिहा भएकी थिइन् । लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एक दिनमै रिहा भएको तर आफूलाई विना कारण १७ दिन थुनिएको उनले गुनासो गरिन् ।

राई रोएलगत्तै अर्की सांसद मञ्जु खाण रुन थालेकी थिइन् । उनले आफूलाई बालकृष्ण खाणकी पत्नी भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर अपमान गरिएको गुनासो गरेकी थिइन् ।

बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको विषयमा नेताहरुले सभापति देउवालाई प्रश्न गरेका थिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले यतिका दिनसम्म गभर्नर नियुक्त गरेका छैनन् । गुणाकर भट्टको राजीनामा स्वीकृत गरिएको छैन । यसमा प्रधानमन्त्रीको चलखेल देखिन्छ । विश्व पौडेललाई गभर्नरमा नाम सारे पनि किन नियुक्त भएन ? ’ बैठकमा सभापतिलाई जिज्ञासा राखेको बारे एक नेताले भने, ‘अब प्रधानमन्त्रीसँगको व्यवहारमा सचेत हुनुपर्ने देखिन्छ । संसदको ठुलो दल कांग्रेस हुने नियुक्तिमा एमाले हाबी हुने यस्तो हुन सक्दैन । सभापति सचेत मात्रै नभएर सोच्नु पर्ने भयो ।’

सभापति देउवाले सत्तासमीकरणका कुनै समस्या नभएकाले प्रधानमन्त्रीलाई भेटेर सबै विषयमा छलफल गर्ने बचन दिएको ति नेताले बताए । सभापति देउवालाई गभर्नर नियुक्त गर्न ढिलाई गर्दा बाहिर सन्देश नराम्रो गएको भन्दै नेताहरुले गुनासो गरेका थिए । सरकारका काम कारबाहीका सावलमा समेत नेताहरुले प्रश्न उठाएको स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार