लमजुङ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान हुँदा चार जना घाइते भएका छन् ।
लमजुङ बेँसीसहर नगरपालिका ८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित अधिवेशनमा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी हानाहान भएको हो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका ९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्य समिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये खुसीजंग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । दुई समूहबीच झडप हुँदा उनीहरू घाइते भएका हुन् । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरूबीच विवाद भएको बताइएको छ ।