आयात र निर्यातलाई बजेटको प्राथकितामा राख्न महासंघका अध्यक्ष ढकालको आग्रह

0 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गरेका छन् ।

नेपाल निर्यात व्यवसायी महासंघ (फिन)को पाँचौँ वार्षिक साधारणसभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन आवश्यक रहेको बताए ।

उनले नेपाली उत्पादन जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवर्द्धनमा सहयोग गर्ने गरी बजेटमा सम्बोधन हुनुपर्ने बताए ।

यस्तै, अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरी खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिए । ‘हामीले लामो समयदेखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौँ, एक दुईपटकको बजेटमा त्यो विषय आयो पनि, तर कार्यान्वयन भएन्, वातावरणमा प्रतिकुल असर नपर्ने गरी हामीसँग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्न सहयोग गर्छ, म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु,’ उनले भने ।

यस्तै, उनले हरेक दुई वर्षमा उद्योगी व्यवसायीलाई दिइने ‘सिआईपी’ दिन ढिला भएको उल्लेख गर्दै सिआईपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गरे ।

निर्यात प्रवर्द्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघसँग सधैँ सहकार्य गर्ने धारणा राखे ।

अध्यक्ष ढकालले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासंघले पहल गरिरहेको बताए ।

सम्बन्धित समाचार