काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन्।
मंगलबार बालुवाटारमा सिनेपास् चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराए।
‘तपाईंहरु सबैले आलोचना गर्नुस् हामीलाई, हाम्रा कुराहरु खण्डन हुनसक्छ,’ मन्त्री गुरुङले भने, ‘खण्डन हुनसक्छ। त्यो हामी स्वीकार्न तयार छौँ। कहाँ बिग्रियो त्यो भन्नुहोला।’
उनले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि जानकारी गराए। त्यस्तै नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानुन मान्नैपर्नेमा जोड दिए।
‘यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरु छन्, त्यसको प्रयोग जसले गरिरहेको छु, उनले भने, ‘त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानून मान्नुपर्ने की नपर्ने ? तपाईंहरु सबैले नेपालको कानुन मान्नुपर्छ। मैले पर्छ, प्रधानमन्त्रीज्यूले पर्छ। राष्ट्रपतिज्यूले मान्नुपर्छ। अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा। त्यसको पक्षमा हामी किन लागिरहेका छौँ। त्यसको नियमन जरुरी छ।’
मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेस भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने समेत बताए।