काठमाडौं । गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारले सामूहिक रुपमा गीतको भिडिओ सार्वजनिक गरेका छन् ।
नेपाल विज्ञापन संघको अध्यक्ष भइसकेका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि छन् । बीचमा गाउन छोडेका पौडेल आज सार्वजनिक भएको गीतमार्फत १५ वर्षपछि उनी पुनः गायनमै फर्किएका छन् ।
विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् ।
सार्वजनिक भएको यस गीतमा कलाकार सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गरेका छन् ।
गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भरेका छन् भने गीतको निर्देशन मनिष पौडेलले गरेका हुन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाको छायांकन तथा व्यवस्थापन कला रहेको छ ।