काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताएका छन्।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभाग मंगलबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा उनले समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको टिप्पणी गरे।
‘म समाजवाद उन्मुख अर्थतन्त्रको बारेमा म कुरा राख्न चाहन्छु,’ श्रेष्ठले भने, ‘अहिले दुई वटा ठूला दल मिलेर संविधान संशोधन गर्ने मुख्य एजेण्डा बोकेर अगाडि बढ्नुभएको छ यहाँहरू। राष्ट्रपतिज्यूले पनि अस्ति पहिलो प्राथमिकतामा संविधान संशोधन रहेको उल्लेख गर्नुभएको छ। संविधानमा जुन समाजवाद उन्मुख अर्थतन्त्र भनेर भनिएको छ, त्यसले कन्फ्युजन व्यक्त गरेको हो कि, कहाँनिर पुग्ने हो गन्तव्य स्पष्ट नभएको हो कि भन्ने जस्तो हामीलाई लागेको छ।’
उनले १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको भन्दै अब सोच्ने बेला भएको बताए। ‘१२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरले लगानी गरेको छैन,’ श्रेष्ठले भने, ‘लगानी छ भने सरकारी क्षेत्रबाट त्यो पनि हाइड्रोपावरमा मात्रै आएको छ। अब सोच्ने बेला आयो कि ?’