काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज त्रिकोणात्मक टी २० सिरिजको दोस्रो खेल खेल्दै छ । आफ्नो दोस्रो खेलमा टोलीले बरोडासँग भिड्ने ।
यसअघि गुजरातसँग पहिलो खेलमा नेपाली टोली आठ विकेटले विजयी भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि दिएको ९८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।
दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका रुपमा नेपालले सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुवैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् ।
नेपालले चैत २१ गुजरातसँग खेल्ने छ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्ने छ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।