अहिले अवस्था असहज छ तर सुधार असम्भव छैनः चन्द्र ढकाल

0 Shares

काठमाडौँ । वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र असहज भएतापनि सुधारको सम्भावना प्रशस्त रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

महासंघको ५९ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्र सुधार गर्न सकिने बताएका हुन् ।

वर्तमान राजनीतिक अस्थिरतालाई संकेत गर्दै अर्थतन्त्र, देश विकास र समृद्धिमा राजनितिक दलहरुको साझा धारणा हुनुपर्ने र निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने उनको भनाइ छ ।

देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म पछिल्लो समयमा युवा वर्गमा देखिएको निराशालाई आशामा बदल्न नसकिने जिकिर गरे । रोजगारी प्रदान गर्न सरकारको सिमितता रहेको भन्दै आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेमा उनको जोड थियो ।

हाल निजी क्षेत्रले ८६ प्रतिशत मानिसहरुलाई रोजगारी दिएतापनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता निजी क्षेत्रमा पनि नरहेको तथ्य केलाउँदै उनले सरकारलाई रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरे । उनी भन्छन्, ‘सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० डलर र दक्षिण कोरियाको करिब एक सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर । यस अवधिमा कोरियाको आम्दानी ४ सय गुणा बढेको देखिन्छ । नेपालको २८ गुणा मात्रै बढ्न पुग्यो । अहिले दक्षिण कोरियाको प्रति व्यक्ति क्रय क्षमता ४० हजार डलर रहेको छ भने १४ नेपालीको १४ सय डलर । यसलाई तुलना नै गर्न सकिँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।’

अध्यक्ष ढकालले वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको बताए । उनले त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्न आवश्यक रहेको बताउँदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार