बस दुर्घटनामा सामान्य घाइते भए, डिस्चाजपछि आत्महत्या गरे

0 Shares

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति बस दुर्घटना हुँदा घाइते भएका युवकले आत्महत्या गरेका छन् । हेटौंडा अस्पतालबाट बिहीबार बिहान डिस्चार्ज भएका विमल ढुंगानाले सुतेको कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

उनी अस्पतालबाट डिस्चार्ज भएपछि हेटौँडा ११ नवलपुरस्थित भीमफेदी गाउँपालिका ९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बसेका थिए । बिहान अबेरसम्म नउठेपछि हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार ढुंगानाले खादा र टाइको डोरी बनाएर आत्महत्या गरेका थिए । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले अगुवा कृषकलाई पूर्वी नेपालको भ्रमण सकेर फर्किँदै गर्दा बाप्र ०६-००१ ख ०२७० नम्बरको बस दुर्घटना हुँदा उनीसहित ३० जना घाइते भएका थिए ।

पशु विकास शाखाका प्राविधिक कर्मचारीसमेत रहेका ढुंगाना दुर्घटनामा परेर सामान्य घाइते मात्रै भएका थिए । बसका चालक फरार छन् । प्रहरीका अनुसार ढुंगाना आफै दुर्घटनामा परेको बसका मालिकसमेत थिए । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

सम्बन्धित समाचार