काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
यहि मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिनेगरी दल दर्ता गर्ने निर्णय गरेको थियो । कार्यदलले आयोगमा दर्ता भएका पार्टीहरू मध्येबाट कुनै एक नाम राख्ने कि नयाँ नाम जुराएर दर्ता गर्ने विषयमा छलफल भएको तर निष्कर्षमा नपुगेको संयोजक बुढाले बताए ।
‘बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दर्ता भएका पार्टीहरू अध्ययन पश्चात् हामी एउटा निष्कर्षमा पुग्छौँ । विभिन्न नामबारे छलफल भएको छ । नेकपा पहिले नै लोकनारायण सुवेदीको नाममा दर्ता भइसकेकाले त्यो नाम राख्न पाउँदैन । अध्ययनको निष्कर्ष आएपछि दल दर्ता गर्छौं’, उनले भने ।
अर्का स्थायी समिति सदस्य सन्तोष बुढाले विकल्पमा कर्णजित बुढाकै नाममा आयोगमा दर्ता भएको नेकपा९माओवादी समाजवादी० पार्टीलाई राखिएको बताए । उनका अनुसार समाजवादी पार्टी दल पनि आयोगमा धेरैले दर्ता गरेकाले यसबारे अहिले अध्ययनै रहेको छ ।
‘विकल्पमा कर्णजितको पार्टीलाई पनि राखेका छौँ । आयोगमा दर्ता भएका कुन कुन दल छन् । ती सबै अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । अध्ययनपछि आएको सुझावको आधारमा हामी निर्णयमा पुग्नेछौँ’, उनले भने ।