काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीको आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा गरेको लुटपाटको क्षति सार्वजनिक भएको छ ।
आन्दोलनकारीले भाटभटेनी सुपर स्टोरमा तोडफोड गरी लुटपाट गरेका थिए । उनीहरुले मोबाइल, घडी, फलफूल, कपडा, मदिरा जस्ता महँगा सामानहरु लुटपाट गरेका थिए ।
भाटभटेनी सुपरमार्केटले सार्वजनिक गरेको विवरणअनुसार उक्त लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको जनाएको छ । भाटभटेनीका सिईओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको हो ।
राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर सुपरमार्केटमा तोडफोडसमेत गरेका थिए । भाटभटेनीका बाहिरी भागमा रहेका भवनका सिसा फुटेका छन् । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।
त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका करिब एक लाख नगद पनि लुटिएको जानकारी दिए ।
भाटभटेनीमा लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा करिब डेढ सय आन्दोलनकारीले भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए ।
