काठमाडाैं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ । त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गसेछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । पहिलेदेखि टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्ने छन् । यसका अतिरिक्त ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन नेट भ्वाइस सेवा, १० वटा अन नेट एसएमएस र ५०० एमबी डाटासमेत अफरअन्तर्गत उपलब्ध हुनेछ । प्रत्येक दिन प्राप्त हुने उक्त सेवा सोही दिनका लागि मात्र कायम रहने छ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचय पत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ ।
साथै सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्ने छ । सोपश्चात् अफर प्राप्त गर्नका लागि *1600# डायल गरी निर्देशन पछ्याउनु पर्नेछः
*1600# डायल गर्दा प्राप्त निर्देशन अनुसार SEE Symbol Number (Without Alphabet) टाइप गरी पठउने गर्ने ।
Date Of Birth (DOB) टाइप गरी Send गर्ने, (DOB) टाइप गर्दा YYYYMMDD (BS) format (eg: 20610101) मा टाइप गर्नुपर्ने छ।
यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन(नेट एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।