मालिक बितेपछि कर्णाली नदीमा बगाइएको गाई घर फर्कियो, प्रहरीले अर्कैलाई दियो पाल्न

0 Shares

काठमाडौं । आजभन्दा १०४ वर्षअघि नेपाली सामाजमा श्रीमानको मृत्यु भए श्रीमती सती जाने प्रथा थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले सतीप्रथालाई अन्त्य गरे पनि बाजुरको एक घटनाले सबैको मन बिथोलिने भिडिओ सार्वजनिक भएको छ ।

भिडियोमा जिउँदो गाईलाई कर्णाली नदीको भेलमा बगाइएको छ । ‘गौदान’को नाममा गाईलाई जिउँदै नदीमा बगाइएको हो ।

बाजुरा जगनाथ गाउँपालिका ६ काप्रेका साउने सार्कीको मृत्यु भएपछि दाह संस्कार लागि कर्णाली नदीमा लगिएको थियो । जसमा मलामीहरूले जिउँसो गाईलाई पनि सँगै लिएर गए ।

स्थानीय डम्बरबहादुर बिसीले हालेको भिडिओमा मलामीहरूले गाईलाई नदीमा बगाउन हरसम्भव प्रयास गरेका छन् । अबोध गाई पनि आफ्नो ज्यान बचाउन भरपूर बल लगाएकी छन् ।

गाईले खोलामा जिउँदै बग्नुभन्दा आफैलाई हुर्काएर पाल्ने व्यक्तिको कुटाइ खाइन् । हिँड्न नसेकेर नदीको किनारमा बसिन् । तर, निर्दयी मलामीले गाईमाथि ढुंगा हानिरहे । लठ्ठी र दाम्लोले हिर्काइरहे ।

परम्पराको नाममा बाजुरामा पहिलेदेखि कसैको मृत्यु भए ‘गौदान’को नाममा गाईलाई नदी तार्ने चलन छ । यही कुकृत्य परम्पराले अबोध गाईहरू जिउँदै नदीमा बग्दै गएका छन् ।

गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गाईलाई बगाउँदा पापमुक्त हुने अन्धविश्वास रहेको स्थानीयबासी बताउँछन् ।

नदीमा जिउँदै गाईलाई बगाउँदा केही मर्छन् । केही बग्दैबग्दै पारी पुग्ने गरेको छ । तर, साउने सार्कीको मृत्युसँगै नदीमा बगाइएको गाई मध्यराति आफैलाई पालेको घर फर्किएको थियो ।

यो गाई साउने सार्कीका परिवारले केही समयअघि कालिकोटबाट किनेर ल्याएका थिए । गाई कर्णाली नदी तर्न नसकेपछि सोही दिन साँझ घर फर्किएको हो ।

भिडिओ सार्वजनिक भएसँगै प्रहरीले गाई खोजेर सोमबार बाजुराको जगन्नाथ गाउँपालिका ६ काप्री गाउँका प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको छ ।

परम्पराका नाममा निर्मम पशुलाई कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्नेमध्ये अधिकांश किरिया बसेकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । किरियाको काम सकेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार