काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई हप्काएपछि उनले यस्तो बताएका हुन् ।
अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशले दुःख पाउनुपर्ने उल्लेख गरे ।
अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उनले भने, “छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थमा आधारित हुँदो रहेछ, आज रूस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ, तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदै छ ।”
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उनले क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव नहुने बताए । एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनःस्थापित हुने अवस्था भएको उनको भनाइ छ ।
महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततःआर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू-राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एशियाली राष्ट्र विशेष ढंगले सचेत बन्नुपर्ने आवश्यक औँल्याए ।