काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्राबधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।
सप्तरीको खडक नगरपालिकाले आजदेखिअ सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै अध्यक्ष प्रचण्डल यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराए । उनले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए । खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै प्रचण्डले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए ।
जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीब्र बनाउनुपर्ने बताए । संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निशुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उनले स्पष्ट पारे । उनले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी दिए ।
कार्यक्रममा पूर्वउप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठत उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयताको अभ्यासपछि प्रदेश र स्थानीय तहको काँधमा महत्त्वपूर्ण दायित्व आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पूर्ण ध्यान लगाउनुपर्ने बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण पाइला चाल्न सुरु गरेको बेला सरकार परिवर्तन गरिएको उल्लेख गर्दै यसलाई पार्टीले प्राथमिकताका साथ अघि बढाउने बताए । खडक नगरपालिकाको अभियान, समाजवादउन्मुख आधार निर्माण अभियान भन्ने नाराका साथ थालिएको अभियान युवा स्वयंसेवक परिचालन गरेर केही महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।