काठमाडाैं । संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने भएको हो ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० सदनमा पेस गर्ने छन् भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।