काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा एक्ता प्रदर्शन गर्न आग्रह गरेका छन् । प्रतिष्ठानले सोमबार कास्कीको पोखरामा आयोजना गरेको कांग्रेसका प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख उपसभापतिका लागि आयोजना गरेको अभिमुखीकरणमा उनले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन् ।
‘मञ्चमा एकता देखाऊँ, कोठाभित्र गएर बहस र छलफल गरौँला । कहीँ समस्या छन् भने छलफल गरौँ, समाधान गरौँ,’ उपसभापति खड्काले भने, ‘मैसँग गुनासो छ, अर्कोसँग गुनासो छ भने मेटौँ । गुनासो मेटेर, एकतावद्ध भएर अगाडि बढौँ ।’ उनले ०८४ अघिका तीन वर्ष पार्टीले चलाएका अभियान सफल भइसकेपछि कांग्रेसलाई स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने पनि बताए ।‘मुलुकमा कांगेसको ०८१ को अभियान चलाऔँ, ०८२ को अभियान चलाऔँ, ०८३ को अभियान चलाऔँ । तीन वर्षे अभियान सफल भइसकेपछि कांग्रेसलाई ०८४ मा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौँदेखिको अपराध अन्तर्घातले रोक्छ ।’
उपसभापति खड्काले कांग्रेसमा देखिएको अन्तर्घातको महारोग अन्त्य गर्नसके एक्लै चुनाव लडेर पनि बहुमत ल्याउन सकिने बताए ।‘अन्तर्घात कांग्रेसको महारोग भयो, यो रोगलाई कसरी निराकण गर्ने हो ?’ उनले भने, ‘जुन रोग अन्त्य गरे कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्छ ।’