काठमाडौँ । पछिल्लो समय चितवनको एक भिडियोले सामाजिक संजाल तातेको छ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले सवारी जाँचका क्रममा एक युवकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको हो ।
उक्त भिडियोमा ती प्रहरीले ‘कलाई फोन गर्ने ? पावर देखाको, फोन गर्’ भन्दै ती युवकलाई लात्तीले हानेको देख्न सकिन्छ । चेकिङमा खटिएका प्रहरीले युवकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि युवकलाई कुटपिट गर्ने ती प्रहरीलाई निलम्बन गरिएको छ ।
यसैगरी, ती प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको छ । भिडियो सार्वजनिक भएपछि उनलाई कारबाही गर्नका लागि प्रहरीले तीन सदस्यीय छानबिन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले एक वक्तव्य जारी गर्दै संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको थियो । प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।