सिजन सकिन लागेसँगै सुन्तलाको मूल्य बढ्यो

0 Shares

काठमाडौँ । बजारमा सुन्तलाको मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ। तथ्यांक अनुसार बजारमा स्वदेशी र भारतीय गरी दुई प्रकारका सुन्तला आउँछन्। भारतीय सुन्तलाको मूल्य स्थिर छ भने नेपाली सुन्तलाको मूल्य बढेको छ।

पुस पहिलो साता नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सय ५ देखि एक सय १५ रूपैयाँ किलोमा बिक्री भएको सुन्तला माघ पहिलो साता आउँदा एक सय दशदेखि एक सय २० रूपैयाँ पुगेको छ।

भारतीय सुन्तला भने प्रतिकिलो थोक मूल्य ९० देखि एक सय रूपैयाँमा कारोबार भएको छ। नेपाली सुन्तलाको सिजन सकिन लागेसँगै मूल्य वृद्धि भएको कालीमाटी बजारमा फलफूल व्ययवसायी शिव गिरिले जानकारी दिए।

‘नेपाली सुन्तला अब निख्रिन लाग्यो,’ उनले भने, ‘त्यसैले मूल्य बढेको हो।’ उनका अनुसार अब १५ देखि २० दिनसम्म नेपाली सुन्तला बजारमा आउने छ। त्यसपछि भने भारतीय सुन्तालाको सिजन सुरू उनले बताए।

कालीमाटीमा गोर्खा, स्याङ्जा, लमजुङ, काभ्रे, धरान लगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ। थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अहिले बजार उपभोक्ताले एक किलो सुन्तलाको एक सय ५० रूपैयाँसम्म तिरिरहेका छन्।

सम्बन्धित समाचार