काठमाडौं । स्मार्ट फोन एप्पलको सर्वाधिक माग हुने चिनियाँ बजारमा सन् २०२४ मा बिक्री कम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनी एप्पलको फोन चीनमा १५ प्रतिशत बजार हिस्सा लिएको छ ।
चीनको स्थानीय बजारमा उत्पान भएको स्मार्ट फोनले एप्पललाई पछि पारेको हो । चिनियाँ कम्पनी हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्यांक प्रदायक क्यानालिसले जनाएको छ ।
चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत बिक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन्।
बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन बिक्री गरेको थियो । यो संख्या २०२४ मा ४ करोड २० लाख ९० हजारमा सिमित भएको छ ।
क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको छ । शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले थपे, “कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।”
एप्पल कम्पनीको आइफोन चीनमा अझै पनि लोकप्रिय छ । तर, उपभोक्ताले हालका वर्षमा घरेलु उत्पादन रूचाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष चीनको भ्रमणलाई प्राथमिकता दिएका थिए । तर, व्यापार बढ्न सकेन ।