प्रेमीको साथ लिएर श्रीमानको हत्या, घटना लुकाउन इसेवाबाट पैसा भुक्तानी

0 Shares

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्दाका रामबहादुर तामाङ गत १ गते कास्कीको सिक्लेसमा मृत भेटिए । परिवार पाल्न काम खोज्दै कास्कीमा पुगेका उनको हत्या आरोपमा चार जना पक्राउ परे ।

तामाङको हत्यामा संलग्न भएको भन्दै प्रहरीले उनकै श्रीमतीसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा मृत फेला परेका तामाङको श्रीमती चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

टाउकोमा चोटपटक लागेको अवस्थामा तामाङको शव भेटिएको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा मृतककी श्रीमती कान्छी लामा तामाङ मुख्य योजनाकार भएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कान्छीसहित धन लामा र दुई किशोरलाई पक्राउ गरिएको हो । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

श्रीमतीकै योजनामा हत्या

रामबहादुर र कान्छी करिब पाँच वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । पतिले अर्की ल्याएपछि कान्छीले बहुविवाहको मुद्दा लिएर अदालत पुगेकी थिइन् ।

अदालतको आदेशअनुसार रामबहादुर कैद भुक्तान गरी जेलमुक्त भएका थिए । उनी निस्किएसँगै श्रीमतीले उनलाई मार्ने योजना बनाएको खुलेको छ ।

पक्राउ परेका धन लामा कान्छीको प्रेमी रहेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि रामबहादुर र धन सँगै हाइड्रोपावरमा एक्स्काभेटर सहचालकको काम गर्थे ।

रामबहादुरकी पत्नी कान्छीले ‘पन्छाउनु पर्‍यो, पैसा दिन्छु’ भनेपछि धनसहितका तीन जना रामबहादुरलाई मार्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सिक्लेशस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरलाई धन लामासहित तीन जनाले हत्या गरेका हुन् ।

टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेपछि उनीहरूले शवलाई सडकभन्दा ३० मिटर तल भिरमा फालिदिएका थिए । हत्या गरेपछि धनले मृतकको श्रीमतीलाई फोन गरी जानकारी दिएको प्रहरी जनाएको छ ।

‘घटनाबारे अन्य २ जना व्यक्तिले देखेका छन्, उनीहरूको मुख टाल्न पैसा थप गरेर पठाऊ’ भनी ई सेवा आइडी दिएपछि मृतकको श्रीमतीले ९० हजार पठाएकी थिइन् ।

उक्त रकम काठमाडौं गएर निकाली २० २० हजार अन्य दुई जनालाई दिएको बाँकी ५० हजार धन लामा आफैले राखेका थिए ।

सम्बन्धित समाचार