झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ

0 Shares

काठमाडौँ । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो।

बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ।

दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर-४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन्।

घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। तर, सबै घाइते खतरामुक्त छन्। दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ। तीव्र गतिको कारण बस अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ।

सम्बन्धित समाचार