अस्पतालमा भर्ना भए मोहन वैद्य, भेट्न गएका नेतासँग बोल्न सकेनन्

0 Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । बिहीबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भए पनि स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता इन्द्रमोहन सिग्देलले महासचिव वैद्यको दमको पुरानो रोगका कारण स्वास्थ्य जटिल बन्दै गएको जानकारी दिए । उनले भने, ‘महासचिवलाई पहिलेदेखि दमको समस्या हो, यो जोडो मौसममा दमले सताउँछ, पछिल्लो समय दमले धेरै गाह्रो बनाएपछि अस्पताल भर्ना गरिएको हो ।’

महासचिव वैद्यलाई शुक्रबार नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा त्रिवि शिक्षण अस्पताल भेट्न गएको पार्टी केन्द्रीय सदस्य पुष्प न्यौपानेले बताए । तर, शर्मासँगको भेटमा वैद्यले दोहोरो कुराकानीसमेत गर्न नसकेको सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेका छन् ।

‘अस्पतालको बेडमा उपचार गराइरहनुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य क. किरणलाई भेट्न माओवादी केन्द्रका उपमहासचिव क. प्रभाकर आज बिहान टिचिङ्ग अस्पताल महाराजगञ्ज पुग्नुभो, तपाईं निकै गले जस्तो देखिनु भा’छ, आराम गर्नुस- क. प्रभाकर’ उनले उल्लेख गरेका छन्, ‘क. किरण केही बोल्न खोज्दै हुनुहुन्थ्यो, डाक्टरको सल्लाहअनुसार उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन, क. किरण र क. प्रभाकरको आँखाको सम्वाद बास्तवमै भावुक थियो, लामो समयदेखि भेट्ने समय जुरेको थिएन ।’

अन्तमा माओवादी नेता शर्माले वैद्यको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेर फर्किएको उनले बताए ।

सम्बन्धित समाचार