काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपसँगै गृह मन्त्रालयले लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमाकान्त अधिकारीलाई हटाएको छ ।
सुनको तस्करीसम्बन्धी जाँचबुझ आयोगले उनलाई निगरानीमा राख्न सिफारिस गरेको आधारमा हटाइएको गृह मन्त्रालयले जनाएको छ ।
आयोगको सिफारिसअनुसार उनलाई शुक्रबार जिम्मेवारीमुक्त गरेको हो । मन्त्रालयले मंगलबार लमजुङमा सहसचिव बुद्धबहादुर गुरुङलाई नियुक्त गरेको छ । गुरुङ तीन सातादेखि गृहमै थिए ।
लमजुङका सीडीओ रहेका उपसचिव अधिकारी यसअघि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए । त्यसबेला सुन तस्करीमा संलग्न व्यक्तिसँग उनको दोहोरो संवाद देखिएको थियो ।
सोमबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरासँग समेत उनको कुराकानी भएको जाँचबुझ आयोगले गत १ गते गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अभियुक्तहरूसँग दोहोरो संवाद देखिएपछि उनलाई हटाइएको गृहका एक अधिकारीले बताए । उनी दुई महिनाअघि मात्र लमजुङमा गएका थिए ।
सुन तस्करी प्रकरणमा प्रस्ट प्रमाण नभएका, तर शंकास्पद देखिएका केही व्यक्तिलाई निगरानीमा राख्न आयोगले सिफारिस गरेकोमा त्यस्ता व्यक्तिलाई जिम्मेवारीमुक्त गरिएको छ ।
यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईइबी)की प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई पनि जिम्मेवारीमुक्त गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।