एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

0 Shares

काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिका २ का गिरीराज खनालले यस वर्ष ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्व वडाध्यक्षसमेत हुन् ।

सन्दकपुर २ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार छ ।

तीस मन अलैँचीको प्रतिमन एक लाख १५ हजारको मूल्यले पनि ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो । गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् ।

बजारमा व्यापारीले अलैँची प्रतिमन एक लाख १० हजारमा खरिद गर्ने गरेका छन् । खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएको छ । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले खेती नछाडेको उनको भनाइ थियो ।

धेरै मेहनत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ ।

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ ।

आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए ।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेशा गर्ने गरेको उनी बताउँछन् ।

सम्बन्धित समाचार