मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द

0 Shares

काठमाडौँ । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै राजमार्ग भएर काठमाडौँ जाने आउने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारी साधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारी साधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारी साधन चालिसे र घाटबेँसीमा रोकिने छ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारी साधन मझिमटार र चरौंदी बजारमा रोकिने छ ।

सम्बन्धित समाचार