म्याग्दीमा आठ सय रोपनीमा हिउँदे आलु रोपिँदै

0 Shares

म्याग्दी । जिल्लामा आठ सय रोपनी जमिनमा हिउँदे आलु खेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलु खेती हुने गरेको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले समुदाय स्तरमा खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलु खेती विस्तार भएको हो ।

खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीले आठ सय ५० रोपनीमा व्यावसायिक रुपमा आलु खेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार, यस कार्यक्रममार्फत करिब तीन सय रोपनीमा बर्खे आलु खेती गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ ।

खायन आलु प्रवर्द्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा यान्त्रिकीकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलु खेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयबाट प्राप्त बजेटमध्ये एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरीक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए ।

जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलु खेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन सहयोग पुग्ने किसानको भनाइ छ ।

सम्बन्धित समाचार