जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक – प्रचण्ड

0 Shares

गोरखा, ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताएका छन् । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

प्रदेश तहलाई प्रभावकारी बनाउन नसक्दा हिजो गरिएको संघीयताताको परिकल्पना पूरा हुन नसकेको उल्लेख उनले संविधान निर्माणको बेलामा संघ, प्रदेश र स्थानीय तह आफूहरुले अघि सारेको अवधारणा भएकाले तिनै तहका सरकार बलिया बनाएर मात्रै जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफूहरुको ऐतिहासिक प्रतिबद्धता भएको बताए ।

आफू प्रधानमन्त्री भएको बेला संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन चार वर्षदेखि रोकिएको समन्वय परिषदको बैठक आयोजना गर्ने, संघीय निजामति ऐनलाई मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पुर्याउने र संघीय प्रहरी ऐन कार्यान्वयनमा लैजान लगायतका प्रयास गरेको जानकारी दिए । अध्यक्ष प्रचण्डले अहिलेका सत्तारुढ दलका नेताहरु संघीय कार्यान्वयनमा गम्भीर नहुँदा बन्नुपर्ने ऐन संसदबाट अझै पारित हुन नसकेको र बनेका ऐन कार्यान्वयन हुन नसकेको बताए । उनीहरुको अरुचिका कारण आफ्नो अत्यधिक मेहनत हुँदाहुँदै पनि संघीयता सबलीकरणले सार्थकता पाउन नसकेको बताए ।

अध्यक्ष प्रचण्डले संघीय कर्मचारी ऐन संसदमा पुर्याएको लामो समयसम्म अघि बढ्न नसकेको र प्रहरी समायोजन ऐन बनेको पाँच वर्षसम्म पनि कार्यान्वयन हुननसक्दा संघीयता कार्यान्वयनमा गम्भीर समस्या देखिएको औल्याए । अहिले आफू प्रतिपक्षमा भए पनि यी ऐन निर्माण र कार्यान्वयनमा गम्भीर रहेको उनलले बताए ।
आफूले प्रधानमन्त्री हुँदा थालेको संघीय सबलीकरणको प्रयासलाई सातै प्रदेशका सरकार र मुख्यमन्त्रीहरुले ठूलो सहयोग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैको ध्यान संघीयता कार्यान्वयन र सबलीकरणमा केन्द्रित हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत ब्यापारमा त्रिदेशीय साझेदारी ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसले मूलतः विद्युत उत्पादनको केन्द्र गण्डकी क्षेत्रलाई बढी फाइदा हुने बताए । भारतमा दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री तथा बंगादेशसम्म विद्युत निर्यातको समझदारी ऐतिहासिक भएको र आफू प्रधानमन्त्री हुँदा सो समझदारी हुनु गौरवको विषय भएको उनले बताए ।

गोरखाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री बन्दा यहाँका जनताको आकांक्षा बढ्नु स्वभाविक भएको र यसलाई पूरा गर्ने प्रयास सबै क्षेत्रबाट भएको बताए । बुढीगण्डकी परियोजनालाई निश्चित मोडालिटी दिएर अघि बढाउने प्रयास गरिएको, यसका लागि धेरै गृहकार्य गरिएको उल्लेख गर्दै उहाँले यसको जटिलता धेरै भए पनि परियोजना नरोकिएको र आफू प्रधानमन्त्री भएको बेलामा यसलाई अघि बढाउन सर्वाधिक प्रयास गरेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले खम्पा बिद्रोहपछि चीनले मनास्लु क्षेत्रलाई निधेषित क्षेत्रको रुपमा लिएको अवस्थाको अन्त्य गर्न आफू प्रधानमन्त्री भएको बेलामा उत्तरी क्षेत्रका सबै नाका खोल्न प्रयास गरिएको, आठ वटा नाका खोलिएको, गोरखाको नाका पनि खोल्ने सहमति भएको र केही प्राविधिक कुरा मिलाएर निषेधित क्षेत्र घटाउनेबारे पनि तयारी भइरहेको जानकारी दिए । । आफू गोरखाबाट निर्वाचित भएपछि राष्टिय राजनीतिका कारण निर्वाचन क्षेत्रलाई धेरै समय दिन नसके पनि गोरखाका हरेक जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेर यहाँको विकासका लागि भूमिका निर्वाह गरिरहेको उनले स्पष्ट पारेका थिए ।

सम्बन्धित समाचार