‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन रिट दायर, यी व्यक्ति पाउनेछन् बस्न

0 Shares

काठमाडौं । सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिनु पर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानून बनाउनु पर्ने माग गर्दै रिट दायर गरेकी छन् ।

रिट निवेदनमा कानूनबमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानूनी व्यवस्था गर्न परमादेश माग गरिएको छ ।

लिभिङ टुगेदरमा बसेकामाथि जबर्जस्ती करणी, नाता कायमको मुद्दालगायत समस्यामा कमी ल्याउन र यौनिक विषयलाई अनैतिक तथा चरित्र हत्याको विषयमा लिने प्रचलनको अन्त्य गर्न कानून आवश्यक पर्ने रिट निवेदनमा उल्लेख गरिएको छ ।

रिट निवेदनमा लिभिङ टुगेदरसम्बन्धी कानूनमा कुन उमेर समूहका व्यक्ति यस्तो सम्बन्धमा रहन पाउने भन्ने निर्धारण गर्नु पर्ने, विवाहित महिला वा पुरुष यस्तो सम्बन्धमा रहन पाउने वा नपाउने कुरा कानूनमा उल्लेख हुनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै, १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहित, पारपाचुके गरेका, विधवा र अन्य जुनसुकै कारणले एकल जीवन व्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र यो सम्बन्धमा बस्न कानूनी रुपमा योग्य ठहर गर्नु पर्ने माग गरिएको छ ।

रिट निवेदनमा जोडीको रुपमा बसेपछि छुट्टीभिन्न हुँदाका बखतमा कायम गर्नु पर्ने वैयक्तिक गोपनीयताको विषयमा प्रष्ट कानूनमा उल्लेख गर्नु पर्ने र आपसी सहमतिबाट वा पारिवारिक दबाब वा व्यक्तिगत कारणले छुट्टी भिन्न हुन चाहेमा छुट्टिएर भिन्न हुनका लागि चाहिने आधार र कारण स्पष्ट हुनु पर्ने माग पनि गरिएको छ । उक्त रिटको सुनुवाइका लागि चैत ४ गते पेशी तोकिएको छ ।

सम्बन्धित समाचार