झाँक्री र मृतक पक्षबीच सहमति, दम्पत्तिको शव आज उठाइँदै

0 Shares

काठमाडौँ । झाँक्रीका रुपमा आफूलाई चिनाउँदै आएका प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका दम्पत्तिको शव उठाउने सहमति भएको छ । ब्रम्हखेलमा उनले चलाएको ल्याण्ड क्रुजर गाडीले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो ।

कार्तिक २८ गते काठमाडौँको शंखरापुर नगरपालिका ९ स्थित ब्रम्हखेलमा भुजेलले चलाएको गाडीको ठक्करबाट कागेश्वरी मनोहरा २ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाले ज्यान गुमाएका थिए ।

मृतक परिवार र भुजेल पक्षबीच सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पीडित पक्षले एक करोड रुपैयाँ क्षतिपूर्ति माग्दै आएको थियो । दुर्घटनापछि भुजेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश ०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् ।

सम्बन्धित समाचार