काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाए । तर, पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोच पलायो ।
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । सोही समयदेखि भुइँकटहर खेतीमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । एक लाख खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।
उनले भने, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।”
उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एक सय ५० सम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन व्यापारी फर्ममै आइपुग्ने उनको भनाइ छ ।
अहिले सुनसरीको बराहक्षेत्रमा भुँइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।
उनले एउटा विरुवालाई १० देखि २० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार उपलब्ध गराइसकेको छ ।