बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका २ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी उनी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् ।
उनी कार्यालयबाहेक समय कालिज फार्ममा खटिँदै आएका छन् । उनले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिज पालन सुरु गरेका थिए । जम्मा २४ हजार रुपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख बढी लगानी गरेका छन् ।
कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन्, उनी । रहरले सुरु गरेको कालिज पालनले व्यावसायिक रुप लिएपछि उनी दङ्ग भएका छन् । उनले छ वर्षअगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिज पालन थालेका थिए ।
सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन मुस्किल पर्न थालेको उनको गुनासो थियो ।
‘केही वर्षअघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन,’ उनले भने, ‘पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यसपछि व्यावसायिक गर्नु पर्छ कि भन्ने सोच आयो, रहरमा थालेको कालिज पालन अहिले व्यवसायमा रुपान्तरण भयो ।’
कोभिड १९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु परेको उनको भनाइ थियो । फार्म रित्तो भएपछि उनले पुनः चल्ला ल्याएका थिए ।
कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई दुई हजार पाँच सय र पोथी कालिजलाई एक हजार पाँच सयमा बिक्री गर्दै आएको उनी बताउँछन् । दशैँमा तीन सय वटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने गरेको छ ।
एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।