नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका ५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।
५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो,’ प्रनाउ खड्काले भने ।
उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएको उनको भनाइ थियो । प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ ।
ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यस पश्चात बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।