माझी बस्तीको पीडा- २० वर्षसम्म बेघर बने, अहिले पानी खान पाएनन्

0 Shares

बागलुङ । बागलुङ नगरपालिका १ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने । तर, पानी आएको छैन ।

बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताइन् । उनले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको जानकारी दिइन् ।

विं.सं. २०४८ मा बागलुङ–पोखरा सडक खण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका १ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घर परिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ ।

उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नु पर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताइन् ।

“घरअघि धारा बनेको तीन वर्ष भइसक्यो, तर पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दो रैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भनिन्, “अहिले नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।”

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै ३० लाख खर्च भइसकेको छ ।

माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताए ।

 

सम्बन्धित समाचार