काठमाडौँ । दैलेख सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका ५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ ।
गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल शून्य छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्, “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।”
दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँमा उत्पादित उपज सवारी साधनमा राखेर शहर पठाउने सपना हुन सकेन । तर, सवारी साधान चढेर युवाहरू शहर पसेपछि अहिले त्यहाँ मलामी नभेटिने अवस्था छ ।
भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् ।
विं.स. २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो । हाल १७ घर मात्र छन् । गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ ।
गाउँका अगुवा धनबहादुर थापा भन्छन्, “पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ ।”
यस्तै गुनासो गर्छन् रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ ।
“निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःख सुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै,” उनले भने ।
दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका ५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि ।
सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका ५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको छ ।
कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् ।
परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनको भनाइ थियो ।