काठमाडौँ । बडादशैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।
विमानस्थल कार्यालयको तथ्यांकअनुसार दशैँको फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले हवाई यात्रा गरेका हुन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन ३० गतेसम्म आन्तरिकतर्फ दुई हजार १५९ र अन्तर्राष्ट्रियतर्फ ७८१ गरी कुल दुई हजार ९४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो ।
दशैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका थिए ।
असोज १३ गतेदेखि असोज २८ गतेसम्म कूल चार लाख २७ हजार ९४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार ८४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।
यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार १०८ र अन्तर्राष्ट्रियतर्फ एक हजार ७४४ गरी कूल ६ हजार ८५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् ।
दशैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए ।
समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।