काठमाडौँ ।
समाज कल्याण परिषद्का कर्मचारीले विगत दुई महिनादेखिको तलब भत्ता पाएका छैनन् । अर्को सातादेखि दशैंंको घटस्थापना सुरु हुनै लाग्दा समेत कर्मचारीले दुई महिनादेखि तलब भत्ता नपाउँदा दुखित भएका हुन् ।
गत साउन र भदौ महिनाको तलब र भत्ता नपाएको परिषद्का एक कर्मचारीले बताए । ‘पहिला ५÷६ महिनासम्म तलब रोकिएको इतिहास छ । अहिले जम्मा २ महिनाको तलब भत्ता रोकिएको छ’ ती कर्मचारीले भने, ‘यो हप्ता तलब भत्ता आउँछ भन्ने सुनेको सायद आउन सक्छ ।’ असोज महिना र दसैँ बोनस गरेर कुल चार महिनाको तलब कर्मचारीले पाउन बाँकी छ ।
परिषद्को ४५ औँ वार्षिक उत्सव कार्यक्रममा अतिथिको रूपमा बोलाएकाले कर्मचारीले नियमित तलब भत्ता नपाएको यर्थात भएको खुलासा गरे । समाज कल्याण परिषद् भ्रष्टाचार र कमिसन खोलको चक्करमा फसेर तलब भत्ता समेत खुवाउन नसक्ने अवस्थामा पुगेको छ ।
परिषद्को अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडी रहेका छन् । उपाध्यक्ष नन्दलाल माझी सहित ५० जना स्थायी कर्मचारी छन् । तर, करार र ज्यालादारी कर्मचारी गरेर कुल ६१ जना कर्मचारी छन् ।