काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजे ओलीले संसदलाई सम्बोधन गर्ने बेला संसद् अवरोध नगर्ने तयारी गरेको माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले बताए ।
पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई लागेका विषयमा बोल्न दिने तयारी गरेको शर्माले बताए । माओवादीका सांसदहरूले समेत संसदमा आफ्ना कुरा राख्ने तयारी गरेका छन् ।
एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले निरन्तर संसद् अवरोध गर्दै आएको छ । माओवादीले निरन्तर संसद् अवरोध जारी राखेपछि सोमबार रातीदेखि संसद् अधिवेशन अन्त्य गर्ने आइतबारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो । सोमबार राती १२ बजेदेखि संसद् अधिवचन अन्त्य गर्दै राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि माओवादी नेताहरू आक्रोशित भएका छन् ।