काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दुई दलीय वा दश दलीय जुन व्यवस्था भए पनि दलकै शासन भएको बताएका छन् ।
काठमाडौँमा सम्पन्न आजपाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले शासन व्यवस्थामा केही सिमित दलाल र भ्रष्टहरूको हालिमुहाली रहेको टिप्पणी गरेका छन् ।
‘अहिले केही दल, त्यसमा पनि केही नेता, नेतामा पनि गुटका मठाधिशहरुले देशमा लुट मचाएका छन्, देशमा लुटेर विदेशमा पैसा लुकाउनेको शासन व्यवस्थामा हालीमुहाली छ,’ आजपा अध्यक्ष साहले भने, ‘देशमा दुई दलीय व्यवस्था होस् वा दश दलिय व्यवस्था, तर शासन व्यवस्थामा जनताको शासन हुनु पर्छ ।’
नेपाली नागरिकता परित्याग गरी विदेशमा गएका गैरनेपाली नागरिकले नेपालबाट सम्पत्ति बेचेर लाने काम रोक्नु पर्ने उनले बताए । गैरनेपाली नागरिकको नेपालमा रहेका सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउनु पर्ने उनको भनाइ थियो ।
यस्तै, आजपा अध्यक्ष साहले भ्रष्ट, दलाल एवं लुटेरा सरकारलाई कर तिर्नु नपर्ने बताए । कर तिरेर भ्रष्टाचारीलाई पाल्न नसकिने बताउँदै उनले भ्रष्ट सरकारलाई कर नतिर्न आह्वान गरेका छन् ।
लुटकारी दलाल दलतन्त्रविरुद्ध शासन सत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उद्घोषण गरेका आजपा अध्यक्ष साहले हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरु योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।
यसैगरी आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापा मगरले भ्रष्ट र दलाल नेताहरुलाई सिंहदरबारबाट कठालो समातेर सडकमा ल्याउने उद्घोष गरेका छन् ।
कार्यक्रममा आजपा उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव नारायण श्रेष्ठ लगायतका नेताहरुको विशेष सहभागिता रहेको छ ।