काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।
बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना कार्यक्रममा उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने ।
त्यसैगरी उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए । उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताएका थिए ।
“दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ,” उनले भने, “छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।”
पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेको बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे ।
गृह जिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरे । यसैगरी उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।