पार्टीको अध्यक्ष पद टीका लगाएर दिने चिज होइन- अध्यक्ष प्रचण्ड

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् ।

प्रेस सेन्टर बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे ।

“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन,” उनले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ ।

“अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन, मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ,” उनले भने, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनु हुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।”

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एक रुपता र एक ढिक्का बनाएर अगाडि बढाउने उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए । उनले आफूले राम्रो गर्दा गर्दै पनि दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए ।

प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार