काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते छन् । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार रातिको दुर्घटनामा परी बाराको बारागढी ३ का ४५ जना घाइते भएका थिए ।
बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका छन् ।
ना ७ ख ६४४६ नम्बरको देव दर्शनको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको सापकोटाले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटन गर्न पुगेका थिए ।
“बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका ३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ,” प्रहरी नायव उपरीक्षक सापकोटाले भने । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको छ ।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठ गरेका बताइएको छ ।
यसअघि शुक्रबार दिउँसो भारतबाट नेपालको तीर्थयात्रा गर्न आएको बस दुर्घटना भएको थियो । भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीको ऐना पहरामा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो ।
घटनामा १६ जना घाइतेको काठमाडौंस्थि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएसँगै भारतकी युवा मामिला तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्से नेपाल आएर घाइतेसँग भेट गरेकी थिइन् ।