काठमाडौं । सिन्धुलीमा हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिबार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा गोलञ्जर गाउँपालिका १ कुडुलेमा दुर्घटना भएको हो ।
भक्तपुरको सूर्य विनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्य विनायक नगरपालिकाका ३२ वर्षीय अविन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।
गाडीमा चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्य भइरहेको छ । घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी जनाएको छ ।