बंगलादेशबाट फर्किएका विद्यार्थीलाई प्रचण्डले भने देशै इन्टर्न मिलाउन पहल गर्छु

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरूसितको भेटमा प्रचण्ड विशेष परिस्थितिका कारण एकटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट एक पटक स्वदेशमै इन्टर्न गर्ने व्यवस्था मिलाउन सरकारसँग छलफल गर्ने बताए । विद्यार्थीहरूसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर उनले जानकारी दिएका थिए ।

जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषद्बाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले आफूले एक पटक सरकारसित छलफल गर्ने र विशेष परिस्थितिका कारण एकटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनु बचन दिएका छन् । सोही क्रममा विद्यार्थीहरूले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउँदै उनीहरूले आफूहरू रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताए । केही विद्यार्थी निराश भएर फर्कन थालेको जानकारी दिँदै उनीहरूले भारत र अन्य देशमा पनि यस्तो व्यवस्था रहेको स्मरण गराएका थिए ।

सम्बन्धित समाचार