पहिरोले देशका यी राजमार्गहरू अवरुद्ध

0 Shares

काठमाडौं । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सडक विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् । २४४ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् ।

मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मोरङको चतरा-मुलघाट-माझीटार-अमापु डाँडा-गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ ।

यसैगरी, सुर्खेत तल्लो ढुङ्गेश्वर-सातखब्बा-दुल्लु-पिपलकोट-खुलालु-मन्मा-नग्मा-जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।

तानसेन-रिडी-कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडक खण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ ।

भूगर्भविद् डा. सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनु पर्ने बताए । ‘अविरल वर्षाका कारण माटो गलाएको छ, अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ,’ उनले भने, ‘त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।’

सम्बन्धित समाचार