काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । प्रचण्डले आफ्नै निवास खुमलटारमा खेलाडीलाई बिदाइ गरेका हुन ।
अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौँ वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपर कोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने भएका छन् ।
खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराँते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराँते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि.आर लगायत सहभागी थिए ।