काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दै छ । आगामी भदौ ११ र १२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बस्ने तय भएको हो ।
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ । दलाल दलतन्त्रविरुद्ध आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि ‘तेस्रो जनआन्दोलन’को आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा कार्य योजना पेश गर्ने भएका छन् ।
आजपा महासचिव त्रिभुवन साहले तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजनासहित अगाडि बढ्ने उनको भनाइ थियो । बैठकमा सोही विषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ ।
साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने भन्नेबारे समेत छलफल र योजनाको बनाउने काम हुनेछ ।
यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन)बारे निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन सकेको छैन ।
यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानु पर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।
तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समीक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने प्रवक्ता साहले जनाएका छन् ।
नेताहरुलाई आन्दोलनको विभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुको कार्य विभाजन गर्दै शसक्त रुपमा अगाडि बढ्ने उनको भनाइ थियो ।