काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत बक्यौता असुलीमा तलमाथि गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको विशेष समयमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेशअनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानूनअनुसार असुल गर्नु पर्ने बताए ।
‘हिजो हामी प्रतिपक्षमा बस्दा जे-जे बोलेका छौँ, यता कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत बक्यौता शुल्कबारे उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’
उनले यी तीनै विषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नु पर्नेमा जोड गरेका छन् । यस्तै, उनले सहकारी प्रकरणमा नाम मुछिएका जो कसैलाई छाड्न नहुने बताए ।