काठमाडौं । चितवनको भरतपुर महानगर २९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतकसहित बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमका लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको छ ।
विं.सं. २०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढी पहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपदबाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेअनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ ।
एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना परेका थिए । जसमा वीरगञ्ज महानगर, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका रहेका छन् ।
एञ्जल बसमा पर्सा जिल्लाबाट सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभा कुमारी चौधरी, सलिम मियाँ, सैनफ खातुनसहित १० जना रहेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम लिन चार वटा पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरिएको जानकारी दिए ।
कार्यालयले राहतका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारका तर्फबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ । यस्तै, गरी मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाण पत्रको छायाँप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकामा यसबारे किटानी वडा सिफारिसको कागजात आवश्यक पर्ने छ ।
यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटना स्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने छ । नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाइ वा भाइलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स बसमा चालकसहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । बस गत असार २८ गते बिहान भरतपुर महानगर २९ स्थित सिमलताल नजिकै बाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ । हराइरहेका केही व्यक्तिको शव भेटिए पनि अधिकांशको अझै बेपत्ता छन् ।